चितवन- कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मुलुकको विकास र समृद्धिको आधारशिला तयार गर्न कानुन सुधार वर्ष घोषणा गरिएको बताएकी छिन् ।
सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गौतमले विकास र समृद्धिका लागि नेतृत्वको इच्छाशक्ति वा असल सोच मात्र पर्याप्त नहुने र त्यसका लागि सही कानुनी वातावरण आवश्यक भएकाले यस वर्षलाई ’कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा गरिएको बताएकी हुन् ।
उनले काम गर्दै जाँदा कुनै कानुन वा नियम विकासको बाधक बनेको महसुस हुनेबित्तिकै त्यसलाई संशोधन प्रक्रियामा लगेर तुरुन्तै संसद्मा पेस गर्ने योजना रहेको उल्लेख गरिन् ।
पूर्व नेतृत्व वा अग्रजहरूको कार्यशैलीप्रति कुनै आलोचना नरहेको भन्दै मन्त्री गौतमले उनीहरूले आफ्नो क्षमता र इमानदारीपूर्वक काम गरेको कुरालाई स्वीकार गरिएको स्पष्ट पारिन ।
उनले अहिलेको मुख्य समस्या नेपाली जनताले खोजेको र चाहेको गतिमा विकास तथा समृद्धि हासिल हुन नसक्नु भएको बताइन । जनतालाई छिटो नतिजा चाहिएकाले कानुनी अड्चनहरूलाई समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।




























































