काठमाडौं- प्रथम काठमाडौं खेल मण्डल (एनआरटी) नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप साउन १३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
काठमाडौं खेल मण्डल (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १३ देखि २३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट १६ स्नूकर खेलाडीको सहभागिता रहनेछ।
काठमाडौं खेल मण्डल (एनआरटी) का महासचिव सतिश कृष्ण श्रेष्ठ का अनुसार प्रतियोगिताको विजेताले रु १ लाख ११ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले रु ५१ हजार नगद र ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही रु २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
यस्तै, प्रतियोगितामा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई रु २५ हजार र ८० अंकभन्दा बढीको उच्चतम ब्रेक बनाउने खेलाडीलाई रु २० हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार स्नूकर खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।




























































