काठमाडौं- नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।


ADVERTISEMENT


सोमबार आयोजित कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र राइनास नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार राइनास नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ। योजनाअन्तर्गत नगरपालिकाले प्रतिकर्मचारी मासिक २ हजार ५ सय रुपैयाँ योगदान गर्नेछ भने कर्मचारीले पनि बराबरको रकम जम्मा गर्नेछन्। यसरी प्रति कर्मचारी मासिक ५ हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुनेछ।

सम्झौताअनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि मासिक पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्।

यस्तै, पेन्सन सुविधा लिन सुरु गरेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउनेछन्। दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

नगरपालिकाले योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी तथा व्यक्तिगत खातासम्बन्धी अभिलेख अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनेछ। कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रहेको रकम फिर्ता लिन सक्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।