काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।


ADVERTISEMENT


काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीले सोमबार संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।


ADVERTISEMENT

# # #


करिब नेरु ७ करोड ५० लाख लागतमा निर्माण हुने विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।

 

यो दार्चुला जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास समारोहमा शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी तथा अन्य सरोकारवालाले भारत सरकारको विकास साझेदारीप्रति आभार व्यक्त गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि आधुनिक तथा गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

 

भारत र नेपालबीच शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामुदायिक विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। भारत सरकारका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोग पुर्‍याइँदै आएको छ।