काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहानदेखि पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको छ।


ADVERTISEMENT


श्रद्धाञ्जलीका लागि श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिएको हो। यस क्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि पार्टी कार्यालय पुगेर स्वर्गीय श्रेष्ठको पार्थिव शरीरमा फुलमाला अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। बानियाँले श्रेष्ठको निधनले नेपाली कांग्रेसले अनुभवी, निष्ठावान र लोकतान्त्रिक आन्दोलनका एक महत्वपूर्ण योद्धा गुमाएको बताएका छन्। उनले स्वर्गीय श्रेष्ठले पार्टी संगठन सुदृढीकरण, लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


७९ वर्षको उमेरमा नेता श्रेष्ठको निधन भएपछि नेपाली कांग्रेसले राष्ट्रिय शोकको अनुभूति गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठप्रति उच्च सम्मान व्यक्त गर्दै विभिन्न शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार श्रावण १३, १४ र १५ गतेसम्म नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, श्रावण १४ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सम्पूर्ण पार्टी कार्यालयहरू बन्द रहने निर्णय गरिएको छ।

यस्तै, स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न तथा नेता–कार्यकर्ता एवं शुभेच्छुकले समवेदना व्यक्त गर्न सकून् भन्ने उद्देश्यले स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने निर्णय पनि गरिएको छ।

नेपाली कांग्रेसका पुराना, प्रभावशाली तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेतामध्ये एक मानिने गोपालमान श्रेष्ठले लामो समय पार्टी संगठन, संसदीय राजनीति र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको निधनसँगै नेपाली कांग्रेसले अनुभवी राजनीतिक नेतृत्व गुमाएको भन्दै पार्टीभित्र र बाहिरबाट श्रद्धाञ्जली तथा समवेदनाका सन्देशहरू आइरहेका छन् ।