काठमाडौं- कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ।


ADVERTISEMENT


सनवे कलेजले आयोजना गरेको कार्यक्रममा ५० बढी इन्नोभेसनको शोकेस तथा प्रतिस्प्रधा भएको थियो । यसैगरि एआइ, ड्रोन र रोबोटिक्स सम्वन्धि प्यानल, वर्कशप र राउण्डटेवल छलफल पनि सन्चालन भएको थियो ।


ADVERTISEMENT

# # #


सनवे कलेजको आयोजनामा सम्पन्न उक्त फेस्टमा शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान, नवप्रवर्तन तथा स्टार्टअप क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनीमा ५ हजारबढीले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ज्ञान आदान–प्रदान, सीप विकास, सहकार्य र नवप्रवर्तनको संस्कृति प्रवर्द्धन गर्नुका साथै एआई तथा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव उपलब्ध गराउनु थियो।

कम्प्युटर बैज्ञानिक मुनि बहादुर शाक्यले उद्घाटन गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे, नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, पुर्वमन्त्री गणेश शाह, सफ्टएड ग्रुपमा अध्यक्ष बिज्ञान श्रेष्ठ लगायतले उद्घाटन कार्यक्रममा बोल्दै इन्नोभेसनको प्रवर्धनमा सन्वे कलेजले गरेको प्रयासलाइ स्रहाना गर्दै इकोसिस्टमको विकासमा सबै मिलेर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको उद्घाटन क्रममा बोल्दै सनवे कलेजका निर्देशक खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान र समाधान खोज्ने सोचबाट सुरु हुने उल्लेख गर्दै शिक्षा नयाँ प्रविधिको प्रयोगमा मात्र सीमित नरही प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्ने धारणा व्यक्त गरे।

फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता, प्रदर्शनी तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शन सञ्चालन गरिएको थियो। सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।

कार्यक्रमको विशेष प्यानल सेसन ‘नेपाल इन द इरा अफ फिजिकल एआई’ बिषयमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले किनोट प्रस्तुति राखेका थिए । नेपाल सरकारले एआइ कम्युटिङ र इन्नोभेसनलाइ प्राथमिकतामा राखेको बताउदै झाले अबको समय फिजिकल एआईको प्रभाव रहने बताए ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका एसोसिएट डिन प्रा. डा. बालकृष्ण बल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सञ्जय पौडेल, बडी एन्ड डाटाकी प्रमुख कार्यकारी अधिकृत डा. दोभान राई तथा कोलोराडो विश्वविद्यालयका अनुसन्धान फेलो डा. निरज पुडासैनी ले नेपालमा एआईको विकास, नीति, अनुसन्धान, साइबर सुरक्षा, डाटा गोपनीयता तथा उद्योग–शिक्षा सहकार्यका विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा रोबोटिक्स तथा ड्रोन वर्कसप, भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता, ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ र ‘एआई टक सिरिज’ रहेका थिए। यी सत्रहरूमा एआईको पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति, डाटा गोपनीयता तथा दैनिक जीवनमा प्रयोगका अवसर र चुनौतीबारे विज्ञहरूले विचार र अनुभव आदान–प्रदान गरेका थिए।

त्यसैगरी फेस्टअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्सपो र मक इन्टरभ्यु सत्र सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले विभिन्न कम्पनीका मानव स्रोत विज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता दिँदै रोजगारीका अवसर, करिअर योजना तथा व्यावसायिक तयारीबारे उपयोगी अनुभव प्राप्त गरेका थिए।

कार्यक्रममा १५ भन्दा बढी कम्युनिटी पार्टनरहरूले नवप्रवर्तन, प्रविधि, स्टार्टअप तथा विद्यार्थी समुदायलाई जोड्ने विभिन्न गतिविधिमा सहकार्य गरेका थिए। साथै समर्पित गेमिङ जोन, फुड स्टल, फोटो बुथ तथा अन्तरक्रियात्मक डेमोहरूले सहभागीलाई प्रविधिसँगै मनोरञ्जनात्मक अनुभव पनि प्रदान गरेको आयोजकले जनाएको छ।

फेस्टमा यान्ट्रा एक्स ले नेपालमा रोबोटिक्स तथा फिजिकल एआईको सम्भावना र अन्तर्राष्ट्रिय अवसरबारे विशेष प्रस्तुति दिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीहरूलाई केवल प्रविधि प्रयोगकर्ता नभई प्रविधि निर्माणकर्ता बन्न प्रेरित गर्ने वातावरण तयार गरेको थियो।

प्रतियोगिताका उत्कृष्ट टोलीहरूलाई विभिन्न संस्थाले विशेष पुरस्कार तथा प्रोत्साहन प्याकेज प्रदान गरेका थिए। एनसेल ले उत्कृष्ट तीन विजेता समूहलाई डेटा र भ्वाइसको अनलिमिटेड प्याकेज उपलब्ध गराएको थियो भने खल्ती ले ११ टोलीलाई प्रति समूह रु. ५,००० बराबरको विशेष प्याकेज प्रदान गरेको थियो। त्यस्तै यति क्लाउड डट एआई ले ११ टोलीलाई ६ महिनाका लागि निःशुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको थियो। ONE BNPL ले Public Choice Award विजेता टोलीलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरेको थियो।

सनवे कलेजका अनुसार ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ ले नेपालमा एआई, रोबोटिक्स, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको इकोसिस्टम सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमले विद्यार्थी, उद्योग, अनुसन्धानकर्ता र नीति निर्माण तहबीच सहकार्यको पुल निर्माण गर्दै नेपालको डिजिटल भविष्यतर्फ सकारात्मक ऊर्जा प्रदान गरेको आयोजकको विश्वास छ।