सुनसरी – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेश समितिले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राजमार्ग सञ्चालनलाई सहज बनाउन सबै पक्षसँग अपिल गरेको छ।


ADVERTISEMENT


बुधबार जारी गरिएको अपिलमा महासंघले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।


ADVERTISEMENT

# # #


महासंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक तथा धार्मिक सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। साम्प्रदायिक वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन तथा अफवाह र उत्तेजनाबाट टाढा रहन पनि अपिल गरिएको छ।

महासंघले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग तत्काल शान्ति सुरक्षा कायम गरी जनधनको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै, कोशी प्रदेशमा शान्ति, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै अवरुद्ध राजमार्ग सञ्चालनलाई सहज बनाउन आवश्यक वातावरण निर्माण गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र सम्बन्धित सबै पक्षसँग महासंघले आग्रह गरेको छ।

महासंघका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठद्वारा हस्ताक्षरित अपिलमा सामाजिक एकता र सार्वजनिक यातायातलाई नियमित सञ्चालन गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।