काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा निर्मित नेपालको लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको आज काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र दाङको तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त दुई तल्ले अपरेसन थिएटर भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो जुन दाङको तुलसीपुर उप–महानगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । यो नेपालको दाङ जिल्लाको ७ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
सो अवसरमा उप–महानगरपालिकाका मेयर, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । उनीहरुले नयाँ पूर्वाधारले यस क्षेत्रमा आँखा उपचार सेवालाई सुदृढ गर्न मद्दत गर्ने बताए ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश समेट्ने गरी करिब ६०० वटा परियोजनाहरु अघि बढाइएको छ । दाङ जिल्लाका ७ वटा परियोजनाहरु सहित यस्ता ६६ वटा परियोजनाहरु लुम्बिनी प्रदेशमा रहेका छन् । यसका अतिरिक्त दाङ जिल्लामा १९ वटा एम्बुलेन्स र ८ वटा स्कुल बस सहित भारत सरकारले लुम्बिनी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई १६९ वटा एम्बुलेन्स र ५९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । सन् २०२२ जनवरीमा राप्ती आँखा अस्पताललाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको थियो ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।






























































