काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको मधेश प्रदेशका केही जिल्लामा अवस्था क्रमशः शान्त बन्दै गएको छ।
कप्तानगञ्ज घटनापछि धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्र तथा सप्तरीको राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश कायमै राखिएको छ। कर्फ्युका कारण बजार, पसल तथा व्यवसाय बन्द छन् भने सडकहरू सुनसान देखिएका छन्। सम्भावित अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ।
दुई समुदायबीच तनाव बढेपछि धनुषाको जनकपुरस्थित शहरी क्षेत्रमा बिहीबारदेखि नै कर्फ्यु आदेश जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा अवस्था अहिले क्रमशः सामान्य बन्दै गएको छ भने शान्ति–सुरक्षा कायम राख्न चारैतर्फ सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार साउन १४ गते बिहानदेखि सडक अवरोध, बजार बन्द, तोडफोड तथा आगजनीका घटना हुन थालेपछि बिहीबार दिउँसो ३ः३० बजेदेखि कर्फ्यु आदेश लागू गरिएको हो।
प्रशासनले सामाजिक सञ्जालमा गलत, भ्रामक तथा अपुष्ट सूचना नफैलाउन सबैसँग आग्रह गरेको छ। यस्ता सामग्रीले सामाजिक सद्भावमा असर पुग्ने र तनाव थप बढ्न सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र विश्वास गर्न प्रशासनले अनुरोध गरेको छ।



























































