काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसंग छलफल गर्दै प्रधानमन्त्री शाहले सवै पक्षसंग समन्वय गर्दै राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताएका हुन् ।
सुनसरी लगाएतका स्थानमा देखिएका समस्या समाधान गर्न आफु संवेदनशील र प्रतिबद्ध भएको समेत प्रधानमन्त्रीले बताएको छलफलमा सहभागी मधेस केन्द्रित राजनीतिक दलका नेताहरुले जानकारी दिएका छन् ।
छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको भन्दै छलफल धेरै नै सकारात्मक कदम भएको बताए ।
तराईका केही जिल्लामा देखिएको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए ।
नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेको उनको भनाइ छ ।
त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे ।
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको उनले बताए ।
त्यस्तै मुस्लिम आयोगका पूर्व अध्यक्ष समीर मियाँ अन्सारीले घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि आवश्यक सुझाव दिएको धारणा राखे । छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी थिए ।



























































