काठमाडौं- देशमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न नागरिक अगुवाहरूले शुक्रबार काठमाडौंमा सद्भाव र्याली आयोजना गरेका छन्। तराई–मधेशका विभिन्न क्षेत्रमा देखिएको तनाव अन्त्य गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भाव जोगाउनुपर्ने सन्देशसहित माइतीघरदेखि बबरमहलसम्म र्याली निकालिएको हो।
र्यालीमा सहभागीहरूले ‘हिंसा होइन, संवाद रोजौँ’, ‘एकता हाम्रो शक्ति, हाम्रो प्रतिबद्धता’, ‘एक नेपाली, साझा जिम्मेवारी’, ‘शान्ति कायम गरौँ’, ‘सामाजिक सद्भाव बचाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले देशभर फैलिएको डर र त्रासको वातावरण अन्त्य गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
र्यालीमा सहभागी नागरिक अगुवाहरूले कुनै पनि प्रकारको धार्मिक वा साम्प्रदायिक द्वन्द्वले समाजलाई विभाजित गर्ने भएकाले संयम, संवाद र आपसी विश्वासका आधारमा समस्याको समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे। उनीहरूले सबै समुदायबीच सहिष्णुता, भाइचारा र पारस्परिक सम्मानको संस्कृतिलाई थप मजबुत बनाउन आग्रह गरे।
गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले सुनसरीलगायतका स्थानमा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे। उनले तनाव समाधानका लागि सम्बन्धित सबै पक्षबीच तत्काल अर्थपूर्ण संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।
भट्टराईले वर्तमान परिस्थितिमा आफूहरू मध्यस्थताको भूमिका निर्वाह गर्न पनि तयार रहेको उल्लेख गर्दै सरकारले धार्मिक संघ–संस्था, नागरिक समाज, राजनीतिक दल र सरोकारवालालाई तत्काल वार्ताको टेबलमा बोलाएर सम्भावित साम्प्रदायिक हिंसा, हत्या र द्वन्द्व रोक्न प्रभावकारी पहल गर्नुपर्ने बताए।
र्यालीमा सहभागीहरूले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अफवाह र घृणाजन्य गतिविधिबाट टाढा रहन तथा सत्य र तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न पनि सबैलाई आग्रह गरेका छन्।



























































