काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो समय विभिन्न स्थानमा देखिएको सामाजिक तनाव र साम्प्रदायिक सद्भावलाई मध्यनजर गर्दै हिन्दू तथा मुस्लिम धार्मिक अगुवासँग छलफल गरेका छन्।
सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आयोजित छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाँल, मौलाना नुरुल हुसेन तथा मौलाना मोहम्मद खालिद सहभागी थिए। छलफलका क्रममा सभापति लामिछानेले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले पछिल्ला घटनालाई लिएर समाजमा विभाजन सिर्जना गर्ने प्रयासप्रति सबै सचेत हुनुपर्ने उल्लेख गर्दै कुनै पनि समस्या संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने धारणा राखे। साथै, धार्मिक तथा सामाजिक नेतृत्वले समाजमा संयम, सहिष्णुता र आपसी विश्वासको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताए।
छलफलपछि हिन्दू र मुस्लिम धार्मिक अगुवाले संयुक्त अपिल जारी गर्दै हातेमालो गरेर राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप बलियो बनाउन सबैलाई आग्रह गरेका छन्।
विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको आधारमा उभिएको देश भएकाले कुनै एक घटनाका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच आउन नदिन सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे। साथै, घटनाबाट प्रभावित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरे।
मौलाना मोहम्मद खालिदले कुनै पनि धर्मले अर्को धर्म वा समुदायप्रति घृणा, विभेद वा हिंसाको शिक्षा नदिने स्पष्ट गर्दै सामाजिक एकता र आपसी सम्मानलाई बलियो बनाउनु सबैको साझा दायित्व भएको बताए। उनले सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरे।
संयुक्त अपिलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई निरन्तर संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न योगदान दिन आह्वान गरिएको छ। साथै, शान्ति, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न सबैसँग आग्रह गरिएको छ।



























































