काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले देशमा शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।


ADVERTISEMENT


शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सुनसरीलगायतका स्थानमा भएका पछिल्ला घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।


ADVERTISEMENT

# # #


 दाहालले कुनै पनि प्रकारको हिंसा, घृणा, साम्प्रदायिक विभेद तथा सामाजिक विखण्डनका प्रयास राष्ट्रहितविपरीत हुने उल्लेख गर्दै यस्ता गतिविधि रोक्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षले संयमता अपनाउनुपर्ने बताएका छन्।

उनले सुनसरीलगायतका घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनले घटनाको वास्तविक विवरण सार्वजनिक गरेर नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष दाहालले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन्। उनले नेपालको संविधानको मर्म, लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको संरक्षण र प्रवर्द्धनमा राष्ट्रिय सभा सधैं प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेका छन्।