काठमाडौं- कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ। आक्रमणमा ज्यान गुमाउने व्यक्ति मोरङका ४४ वर्षीय सोमकुमार तामाङ रहेको पुष्टि भएको छ।
घटनापछि कुवेत सरकारले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन बत्ती नियन्त्रण (ब्ल्याकआउट), सार्वजनिक स्थानमा सुरक्षा निगरानी बढाउने, भीडभाड हुने गतिविधिमा कडाइ गर्ने तथा सरकारी र केही निजी संस्थामा वर्क फ्रम होम व्यवस्था लागू गरिएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमका अनुसार मृतक तामाङको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाइसकिएको छ। उनले घटनापछि दूतावासले कुवेतमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र आवश्यक परेमा सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।
ड्रोन आक्रमणपछि कुवेतमा कार्यरत हजारौं नेपाली श्रमिकमा सुरक्षा चिन्ता बढेको छ। धेरै नेपालीले सम्भावित सुरक्षा जोखिमलाई लिएर आफूहरू त्रसित भएको बताएका छन्। दूतावासले सबै नेपालीलाई स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिका पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्किन तथा आपत्कालीन अवस्थाबारे आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण कुवेतसहित खाडी मुलुकहरू उच्च सतर्कतामा छन्। त्यसको प्रत्यक्ष असर त्यहाँ रोजगारी गरिरहेका नेपालीमाथि पनि परेको देखिएको छ। नेपाली दूतावासले कुवेतस्थित नेपालीको सुरक्षा अवस्थालाई प्राथमिकताका साथ निगरानी गरिरहेको जनाएको छ।



























































