काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विश्वबजारसँगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि डिजिटल अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले डिजिटल क्षेत्रमा सरकारले निजी क्षेत्रसँग विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सके नेपालले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल इकोनोमी स् स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले डिजिटल प्रविधि अब सूचना आदान–प्रदानको माध्यम मात्र नभई मुलुकको आर्थिक विकास, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी विस्तारको प्रमुख आधार बनेको बताए।
उनले विश्वका धेरै मुलुकले डिजिटल अर्थतन्त्रलाई विकासको मुख्य इन्जिनका रूपमा प्रयोग गरिरहेको उल्लेख गर्दै नेपालले पनि समयको मागअनुसार आफ्नो सोच र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, ई–कमर्स तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना रहेकाले त्यसलाई व्यवहारमा उतार्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
सभापति थापाले सरकारले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्नुपर्ने बताए। निजी क्षेत्रसँग रहेको अनुभव, दक्ष जनशक्ति, लगानी क्षमता र प्रविधिको उपयोग गर्न सके डिजिटल अर्थतन्त्रलाई तीव्र गतिमा विस्तार गर्न सकिने उनको विश्वास थियो।
उनले नीति निर्माणमा निजी क्षेत्र, प्राज्ञिक क्षेत्र, प्रविधि विज्ञ र उद्यमीहरूको सुझावलाई समेट्दै दीर्घकालीन डिजिटल नीति बनाउनुपर्नेमा जोड दिए। डिजिटल पूर्वाधार विस्तार, साइबर सुरक्षाको सुदृढीकरण, डिजिटल सीप विकास र नवप्रवर्तनमैत्री कानुनी व्यवस्था निर्माण गर्न पनि उनले सरकारलाई आग्रह गरे।
थापाले नेपाली युवामा विश्वस्तरको क्षमता रहेको उल्लेख गर्दै उनीहरूलाई देशभित्रै अवसर सिर्जना गर्न सके वैदेशिक पलायन घटाउने मात्र होइन, नेपाललाई डिजिटल सेवा निर्यात गर्ने मुलुकका रूपमा पनि स्थापित गर्न सकिने बताए। “डिजिटल अर्थतन्त्रले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै नेपाली प्रतिभालाई विश्वबजारसँग जोड्ने अवसर प्रदान गर्छ,” उनले भने।
कार्यक्रममा उनले डिजिटल रूपान्तरणलाई सफल बनाउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच बलियो सहकार्य आवश्यक रहेको बताए। अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमलाई प्रोत्साहन नगरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको धारणा थियो।
यसैबीच, नेपाली कांग्रेसले संसदमा हुने छलफललाई थप तथ्यपरक, प्रभावकारी र नतिजामुखी बनाउन अध्ययन तथा अनुसन्धानलाई संस्थागत गर्ने तयारी गरेको छ। त्यसका लागि डा.गोविन्द पोखरेलको नेतृत्वमा रहेको टोलीले सांसदहरूलाई आवश्यक अध्ययन प्रतिवेदन, तथ्यांक, विश्लेषण तथा नीतिगत सुझाव उपलब्ध गराउने तयारी गरिरहेको जानकारी पनि कार्यक्रममा दिइएको छ।
सभापति थापाले संसदमा तथ्य र अध्ययनमा आधारित बहसको संस्कृतिको विकास हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउन अनुसन्धानमा आधारित नीति निर्माण अपरिहार्य रहेको बताएका छन्। उनले डिजिटल अर्थतन्त्रलाई केवल प्रविधिको विषयका रूपमा नभई नेपालको समग्र आर्थिक भविष्यसँग जोडिएको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन सरकार, निजी क्षेत्र र सबै सरोकारवालाले साझा प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिएका छन्।



























































