विराटनगर – विराटनगरस्थित चर्चित व्यापारिक घराना देवनरा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ।


ADVERTISEMENT


मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ४ बजेदेखि मुन्दडाको घर तथा कार्यालयमा खानतलासी गरेको हो। प्रहरीले जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फका सडकसमेत केही समयका लागि बन्द गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको हो। देवनरा समूहले मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको छ भने बाबा आयल र हाइलाइफ चप्पल उद्योगसहित दर्जनौँ उद्योग–व्यवसाय सञ्चालन गर्दै आएको छ।

प्रहरीले चाँदी कारोबारमा अनियमितता हुन सक्ने आशंकामा छापा मारेको हुन सक्ने अनुमान गरिएको भए पनि खानतलासीका क्रममा कुनै अवैध सामग्री वा गैरकानुनी वस्तु फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी कटुवालले जानकारी दिए।

उनका अनुसार सूचनाको आधारमा कानुनी प्रक्रिया पूरा गर्दै खोजतलास गरिएको भए पनि कुनै आपत्तिजनक सामग्री नभेटिएपछि प्रहरी टोली फर्किएको हो।

देवनरा समूहमाथि विगतमा अवैध हुन्डी कारोबारको आरोप लाग्ने गरे पनि हालसम्म त्यस्तो कारोबारमा संलग्न रहेको पुष्टि भएको छैन।

यता, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले छापाको कारणबारे आफूहरूलाई आधिकारिक जानकारी नदिइएको बताएका छन्। उनका अनुसार सुरक्षा निकायले पनि खानतलासीको उद्देश्यबारे कुनै स्पष्ट जानकारी उपलब्ध गराएको छैन।