काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले बागमती करिडोर विस्तारको काम नेपाली सेनासँग समन्वय गरेरै गरिएको स्पष्ट पारेका छन्।
मंगलबार संघीय संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सुरुवाती चरणमा नेपाली सेनाका एक अधिकृतलाई समयमै जानकारी नपुग्दा केही समय समन्वयमा कमी देखिएको भए पनि त्यसपछि सेनासँग सहकार्य गरेर नै काम अघि बढाइएको बताएका हुन्।
उनका अनुसार स्थानीयवासीको माग तथा आवश्यकतालाई सम्बोधन गर्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर सडक विस्तार गरिएको हो।
सांसद पाण्डेले करिडोर खोल्ने क्रममा उक्त क्षेत्रमा नेपाली सेनाको टोली रहेको जानकारी पाएपछि थप समन्वयका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । बाहिर सार्वजनिक भएका भिडियोहरू समन्वय हुनुअघि केही मिनेटको अवस्थाका भएकाले त्यसलाई लिएर अनावश्यक भ्रम फैलाउन नहुने उनको भनाइ छ।
उनले त्यसपछि नेपाली सेनासँग आवश्यक समन्वय गरी करिडोर विस्तारको काम सहज रूपमा अघि बढाइएको स्पष्ट पारेका छन् ।
नेपाली सेना रिसाएको भन्ने विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सांसद पाण्डेले आफूलाई त्यस्तो अनुभूति नभएको बताएका छन्। उनले बजारमा फैलिएका हल्लाको पछि नलाग्न आग्रह गर्दै नेपाली सेनाले सधैं नागरिक सर्वोच्चताको सम्मान गर्दै राष्ट्रसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
सांसद पाण्डेले आफूले नेपाली सेना, राष्ट्रियता र सैनिक संगठनप्रति सदैव उच्च सम्मान राख्ने धारणा व्यक्त गर्दै करिडोर विस्तारको विषयलाई अनावश्यक विवादका रूपमा प्रस्तुत नगर्न आग्रह गरेका छन्।



























































