काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बढाएर अघि बढ्ने बताएको छ ।
मंगलबार मन्त्रालयमा २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै मन्त्री वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभइ साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध रहेको समेत बताए । उनले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सवैको साझा उदेश्य भएको उल्लेख गरे ।
लगानीको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने काममा सरोकारवाला सवैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
बैठकमा सहभागी नबिल बैंकका सिइओ मनोज ज्ञवालीले आयात घटाउने , निर्यात बढाउने , शोधनान्तर स्थितिमा सुधार गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए ।































































