काठमाडौं- नेपाल आयल निगमले नयाँ कार्यकारी निर्देशक पाएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार साह खुला प्रतिस्पर्धाबाट छनोट भएका हुन्। उनी यसअघि निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गर्दै निगमको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका हुन्।
कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले साउन १७ गते नागेन्द्र साह, प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। तीमध्ये मन्त्रिपरिषद्ले साहलाई अन्तिम रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
इन्धन आपूर्तिलाई थप व्यवस्थित बनाउने, भण्डारण क्षमता विस्तार गर्ने तथा निगमको संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी अब साहको काँधमा आएको छ। उनको नियुक्तिसँगै निगमको सेवा प्रवाह र व्यवस्थापनमा थप सुधार हुने अपेक्षा गरिएको छ।


























































