काठमाडौं- जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई साना–साना आन्तरिक घटनामा परिचालन गरेर सेनाको गरिमा र विश्वसनीयतामाथि आँच पुर्याएको आरोप लगाएका छन्। उनले यस्तो अभ्यासले दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षामै नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ढुंगानाले कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपका क्रममा प्रहरीले गोली चलाउनु र त्यसपछि सेना परिचालन गर्नु दुवै गलत निर्णय भएको बताए। उनले उक्त घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।
ढुंगानाले द्वन्द्व व्यवस्थापनका क्रममा प्रहरीले एसएलआरजस्ता प्राणघातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए। भारतमा भएका ठूला आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उदाहरण दिँदै नेपालमा सामान्य झडपमै गोली चलाइनु चिन्ताजनक भएको उनको भनाइ थियो।
उनले सेनालाई बारम्बार आन्तरिक साना घटनामा उतार्दा जनतामा सेनाप्रतिको विश्वास कमजोर हुने र भविष्यमा सुरक्षा चुनौती बढ्न सक्ने बताए। “सेनाको वर्चस्व र जनविश्वास कमजोर भयो भने त्यसको असर कुनै एक सरकारलाई मात्र होइन, समग्र राष्ट्रलाई पर्छ,” उनले भने।
ढुंगानाले सरकारसँग राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई केन्द्रमा राखेर सुरक्षा नीति बनाउन आग्रह गरे। साथै पेट्रोलियम पदार्थमा भइरहेको मिसावट नियन्त्रण गर्न, मूल्य घटाउन तथा परराष्ट्र नीतिमा पनि स्पष्ट र सन्तुलित दृष्टिकोण अपनाउन सरकारलाई सुझाव दिए।


























































