काठमाडौं- प्रतिनिधि सभाको बैठकलाई थप मर्यादित र अनुशासित बनाउन अबदेखि बैठक कक्षभित्र कालो चस्मा लगाउन नपाइने भएको छ। सभामुख डोलप्रसाद डिपी अर्यालले सांसदहरूलाई यस्तो निर्देशन दिँदै नियम सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पारेका छन्।


ADVERTISEMENT


बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसदको गरिमा र अनुशासन कायम राख्न बैठक कक्षभित्र कालो चस्मा प्रयोग नगर्न आग्रह गरेका हुन्।उनले प्रमुख सचेतक र सचेतकहरूलाई आफ्ना दलका सांसदसम्म यो निर्देशन तत्काल पुर्‍याउन पनि निर्देशन दिएका छन्।


ADVERTISEMENT

# # #


बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना  यो नियम सांसदमा मात्र सीमित नराखी प्रधानमन्त्री, मन्त्री र सरकारका सबै प्रतिनिधिमा पनि समान रूपमा लागू हुनुपर्ने धारणा राखेकी छ्न्। सचेतक थापाले संसदमा प्रधानमन्त्री र केही मन्त्रीहरू समेत कालो चस्मा लगाएर उपस्थित हुने गरेको उल्लेख गर्दै सभामुखले उनीहरूलाई पनि निर्देशन दिनुपर्ने बताएकी छन्।

त्यसपछि सभामुख अर्यालले रास्वपाका सचेतक प्रकाशचन्द्र परियारमार्फत प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म पनि उक्त सन्देश पुर्‍याउन आग्रह गरेका छन्।

कालो चस्माको विषयसँगै समितिको बैठकमा सांसदहरूको पोसाक, आचरण र संसदको मर्यादाबारे पनि छलफल भएको छ। सांसदहरूले अनिवार्य रूपमा प्रतिनिधि सभाको लोगो लगाएर मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने, बैठकका बेला लबीमा अनावश्यक रूपमा गफगाफ नगर्नुपर्ने तथा संसदको गरिमा कायम राख्ने व्यवहार अपनाउनुपर्ने विषयमा सभामुखले विशेष जोड दिएका छन्।

सभामुखको निर्देशनसँगै प्रतिनिधि सभामा अब सांसद, प्रधानमन्त्री र मन्त्रीसहित सबै सहभागीले बैठकको मर्यादा र अनुशासनलाई थप कडाइका साथ पालना गर्नुपर्ने अपेक्षा गरिएको छ।