काठमाडौं- भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित श्री जनहित माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
विद्यालय भवनको शिलान्यास नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीयस्तरीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
करिब ५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो। निर्माण हुने भवनमा दुई ब्लक, सात वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष तथा आधुनिक शौचालय रहनेछन्।
कार्यक्रममा आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गरेका छन्।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु गुणस्तरीय शिक्षाका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भारत सरकारको सहयोगप्रति आभार व्यक्त गरे।
भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारको अनुदान सहयोगमा नेपालभर सञ्चालन भएका विभिन्न विकास परियोजनाबारे चर्चा गर्दै जनहित माध्यमिक विद्यालयको भवन निर्माण परियोजनाले नेपाल–भारत विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
उक्त परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सहयोग पुर्याउनुका साथै शैक्षिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


























































