काठमाडौं- आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो चरणको भाग्यचिठ्ठा लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ।


ADVERTISEMENT


सरकारको कर प्रणालीमा सुधार, वित्तीय सुशासन तथा आर्थिक पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रममा एक किराना पसलबाट २५० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गरी बिल लिने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।


ADVERTISEMENT

# # #


अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरी बिल लिएका उपभोक्तामध्येबाट पारदर्शी प्रक्रियामार्फत विजेता छनोट गरिएको हो।

विभागका अनुसार १० लाख रुपैयाँको पुरस्कारबाट नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ कर कट्टा गरी १ लाख रुपैयाँपुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले फोनपे लगायतका डिजिटल माध्यमबाट भएका कारोबार स्वतः प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको जानकारी दिँदै नागरिकलाई डिजिटल भुक्तानी र बिल लिने–दिने संस्कार विकास गर्न प्रोत्साहित गर्नु सरकारको उद्देश्य रहेको बताए।

विभागका अनुसार पहिलो चरणको लक्की ड्रका लागि २ करोड ५६ लाख ८ हजार ७९४ वटा डिजिटल तथा ७ हजार ७७ वटा नगद कारोबार सहभागी भएका थिए। विजेता छनोटका लागि क्रिप्टोग्राफिक रूपमा सुरक्षित र्यान्डम स्याम्पलिङ विधि प्रयोग गरिएको विभागले जनाएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यो नागरिक–केन्द्रित योजनाले उपभोक्तामा खरिदपछि अनिवार्य रूपमा बिल लिने र व्यवसायीलाई बिल जारी गर्ने संस्कार विकास गर्ने सरकारको अपेक्षा रहेको छ।