काठमाडौं- नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ प्रिमियम विद्युतीय एसयूभी लिपमोटर बी०३एक्स नेपाल भित्र्याएको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च रेन्ज र सुरक्षालाई प्राथमिकता दिइएको यो विद्युतीय गाडीलाई कम्पनीले छिट्टै विशेष समारोहबीच नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।


ADVERTISEMENT


‘बुद्धिमान सहरी यातायात’को अवधारणामा आधारित बी०३एक्सलाई नेपालको विविध सडक अवस्था र दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ। गाडीमा आरामदायी यात्रा, आधुनिक सुविधा र शक्तिशाली विद्युतीय प्रणालीको संयोजन गरिएको छ।


ADVERTISEMENT

# # #


लिपमोटर बी०३एक्समा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। त्यस्तै, यसमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। कम्पनीका अनुसार एकपटक पूर्ण रूपमा चार्ज गरेपछि गाडीले ५०५ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। उच्च रेन्जका कारण लामो दूरीको यात्राका लागि पनि यो गाडी आकर्षक विकल्प बन्ने कम्पनीको विश्वास छ।

गाडीको अर्को महत्वपूर्ण विशेषता यसको सुरक्षा प्रविधि हो। बी०३एक्समा स्तर–२ उन्नत चालक सहायता प्रणाली उपलब्ध छ। यस प्रविधिले चालकलाई विभिन्न अवस्थामा सहयोग गर्नुका साथै यात्रा थप सुरक्षित र सहज बनाउन मद्दत गर्नेछ।

त्यस्तै, गाडीमा ५१० लिटर क्षमताको ठूलो सामान राख्ने स्थान रहेको छ। फराकिलो भित्री भाग, आरामदायी सिट, प्रिमियम बनावट र आधुनिक सुविधाले गाडीको यात्रालाई थप सहज बनाउने कम्पनीले जनाएको छ।

लिपमोटर विश्व बजारमा नयाँ ऊर्जा विद्युतीय सवारीसाधन उत्पादन गर्ने चर्चित चिनियाँ कम्पनीका रूपमा स्थापित हुँदै गएको छ। कम्पनीले विश्वका विभिन्न बजारमा आफ्नो विद्युतीय सवारीसाधन विस्तार गरिरहेको छ।

लिपमोटरले विश्वका प्रमुख अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिससँग सहकार्य गर्दै आएको छ। स्टेलान्टिस समूहमा मासेराटी, जिप, प्युजो लगायतका चर्चित सवारीसाधन ब्रान्डहरू रहेका छन्। यस सहकार्यले लिपमोटरलाई अन्तर्राष्ट्रिय बजारमा प्रविधि, उत्पादन र बजार विस्तारका क्षेत्रमा थप बलियो बनाएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरिसकेको छ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सांग्रिला मोटर्सले बी०३एक्स नेपाली बजारमा ल्याएको हो।

बी०३एक्सको नेपाल प्रवेशसँगै प्रिमियम विद्युतीय एसयूभीको बजारमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ। उच्च रेन्ज, शक्तिशाली मोटर, आधुनिक सुरक्षा प्रणाली, फराकिलो भित्री भाग र प्रिमियम डिजाइन यसको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।