काठमाडौं –नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ले पहल थालेको छ। अभियानले राजधानीमा बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्दै कांग्रेसमा एकता कायम गर्नुपर्नेमा जोड दिएको हो।


ADVERTISEMENT


कार्यक्रममा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले देश राजनीतिक, सामाजिक र आर्थिक चुनौतीबाट गुज्रिरहेका बेला कांग्रेसभित्रको एकता झन् आवश्यक भएको बताएका छन् । गाउँका जनता र पार्टीका कार्यकर्ताको चाहना कांग्रेस बलियो र एकताबद्ध होस् भन्ने रहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


महरले कांग्रेसको आन्तरिक विवाद अब नेताहरूको मात्रै विषय नरहेको बताउँदै यसको असर संगठन, कार्यकर्ता र आम नागरिकमा समेत परेको उल्लेख गरेका छन्। कांग्रेसलाई पुनः जनतासँग जोड्न आन्तरिक एकता पहिलो सर्त भएको उनको भनाई छ।

कांग्रेसभित्र विचारमा बहस र नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टी कमजोर हुने गरी विभाजन गर्न नहुने उनको धारणा छ।

एकताका लागि नेताहरूले व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाभन्दा माथि उठ्नुपर्नेमा जोड दिँदै महरले केही नेताले एक कदम पछाडि हटेर भए पनि पार्टीलाई फुटबाट जोगाउनुपर्ने बताएका छन् ।

उनले कांग्रेसको एकता पार्टीभित्रको व्यवस्थापनको विषय मात्र नभई लोकतन्त्र र देशको भविष्यसँग जोडिएको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । देशलाई बलियो लोकतान्त्रिक शक्ति आवश्यक रहेको र त्यसको भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष ध्रुव थापा, पूर्वउपकुलपति प्रेमनारायण अर्याल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वराष्ट्रिय अध्यक्ष योगेन्द्र अधिकारी, प्राध्यापक मनोज कर्ण, पूर्वसांसद रामजीवन सिंहलगायत विभिन्न क्षेत्रका एक सयभन्दा बढी बुद्धिजीवी तथा नागरिक अगुवाको सहभागिता रहेको छ।

कार्यक्रममा सहभागीहरूले व्यक्तिभन्दा पार्टी, गुटभन्दा संगठन र पदभन्दा देशलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। उनीहरूले कांग्रेसमा विचारको बहस र नेतृत्वका लागि प्रतिस्पर्धा भए पनि पार्टी विभाजन हुन नहुनेमा जोड दिएका छन्।

अभियानले कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने जनाएको छ। अभियानका अनुसार हस्ताक्षर अभियानलाई कांग्रेस एकताबद्ध हुनुपर्छ भन्ने कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकको सामूहिक आवाजका रूपमा अघि बढाइनेछ।