काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र लगानी हुँदै राष्ट्रिय विकाससँग जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले युवासँग सम्बन्धित विभिन्न सेवा, अवसर र कार्यक्रमलाई एउटै प्रणालीमा जोड्ने गरी ‘युथ इकोसिस्टम’ निर्माणको काम भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता सेवा केन्द्र, युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत युवासँग सम्बन्धित विभिन्न संयन्त्रलाई एकीकृत रूपमा जोड्ने तयारी भइरहेको छ।
मन्त्री यादवले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई देश निर्माणमा उपयोग गर्नु सरकारको प्राथमिकता रहेको बताए। युवा देशको भविष्य मात्र नभई वर्तमानको महत्वपूर्ण शक्ति भएकाले नीति निर्माण, नेतृत्व र विकासका हरेक प्रक्रियामा युवालाई अग्रस्थानमा राख्नुपर्ने उनको भनाइ छ।
उनले युवा नेतृत्वको सम्मान गर्दै राष्ट्रिय युवा ऐनको विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष बनाउन सकिने नयाँ व्यवस्था प्रस्ताव गरिएको जानकारीसमेत दिए।
मन्त्री यादवले युवाले अवसर खोज्दै एउटा सरकारी कार्यालयबाट अर्को कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए। युवासँग सम्बन्धित सेवा र अवसरलाई एकीकृत प्रणालीमार्फत सहज रूपमा उपलब्ध गराउने सरकारको उद्देश्य रहेको उनले बताए।
युवाको शिक्षा, सीप विकास, रोजगारी, उद्यमशीलता तथा लगानीका अवसरलाई एउटै प्रणालीमा जोड्न सकिए युवाको क्षमता देशको आर्थिक तथा सामाजिक विकासमा प्रभावकारी रूपमा परिचालन गर्न सकिने सरकारको विश्वास छ।



























































