काठमाडौँ – नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनै पनि आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुँदै आईजीपी कार्कीले खरिद प्रक्रियामा राज्यकोषबाट कुनै रकम खर्च नभएकाले भ्रष्टाचार भएको भन्ने आरोपको वस्तुगत आधार नरहेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनका अनुसार सम्बन्धित खरिद प्रक्रियामा कुनै पनि फर्मसँग सम्झौता भएको छैन । न त पेस्की वा भुक्तानी नै भएको छ, न खरिद गरिएका सामग्री प्रहरीको दाखिला भएको छ । सार्वजनिक खरिद ऐन तथा बोलपत्रका शर्तअनुसार नै प्रक्रिया रद्द गरिएको उनले बताए ।

खरिद प्रक्रियाप्रति असन्तुष्टि भए सार्वजनिक खरिद पुनरावलोकन समिति वा अदालतमा उजुरी गर्ने कानुनी व्यवस्था हुँदाहुँदै बेनामी उजुरीमार्फत विवाद सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै कार्कीले असन्तुष्टि व्यक्त गरे ।

भृकुटीमण्डपस्थित ‘ब्लु प्याभिलियन’ सम्बन्धमा पनि उनले आफूले अमर प्रहरीका आश्रित परिवारले उत्पादन गरेका सामग्री बिक्री गर्ने स्टल सञ्चालन गर्ने उद्देश्यले मात्र सार्वजनिक रूपमा धारणा राखेको स्पष्ट पारे । त्यस विषयमा कुनै संरचना निर्माण नभएको, कसैसँग सम्झौता वा औपचारिक छलफलसमेत नभएको उनले बताए ।

तर, यही विषयलाई लिएर गृह मन्त्रालयलगायत विभिन्न निकायमा बेनामी उजुरीको चाङ लागेको कार्कीको भनाइ छ । खरिदसम्बन्धी काममा पटक–पटक प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले नेपाल प्रहरीको खरिद कार्यलाई व्यवस्थित बनाउन छुट्टै विशिष्टीकृत निकाय वा विभाग गठन गर्नुपर्ने सुझाव दिए ।

हाल सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्थाअनुसार खरिदका लागि आवश्यक प्राविधिक स्पेसिफिकेसन परिमार्जनको काम भइरहेको उनले जानकारी दिए । नयाँ आर्थिक वर्षमा कानुन र नियमअनुसार पुनः खरिद प्रक्रिया अघि बढाइने उनको भनाइ छ । सम्बन्धित विषय अदालतमा विचाराधीन रहेकाले अदालतबाट अन्तिम निरूपण भएपछि बाँकी प्रक्रिया अघि बढाउने पनि आईजीपी कार्कीले स्पष्ट पारे ।