रोल्पा – अविरल वर्षापछि आएको पहिरोले रोल्पाको सुनछहरी गाउँपालिका–२ मा ठूलो क्षति पुर्याएको छ। पहिरोले दुई घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन्।
फलबाङस्थित वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिँदा ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। सोही घरमा रहेका वीरबहादुर घर्तीमगर र उनकी श्रीमती शनी घर्तीमगर बेपत्ता भएका छन्। यस्तै, सुनछहरी–२ कै गिट्ठेमा रहेको लादे घर्तीमगरको घर पनि पहिरोले पुरिएको छ। उनीसमेत बेपत्ता रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
प्रहरी, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। यसअघि पनि रोल्पाको थबाङ क्षेत्रमा गएको पहिरोमा १० जनाको ज्यान गएको थियो भने केही व्यक्ति अझै बेपत्ता रहेका छन्। अविरल वर्षासँगै पहाडी जिल्लामा पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।




























































