काठमाडौं-  गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति गम्भीर असन्तुष्टि  जनाएका छन्।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफू अनुपस्थित रहेको समयमा गृहसचिव र प्रहरी प्रमुखप्रति गरिएको व्यवहार तथा प्रस्तुतिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।


ADVERTISEMENT

# # #


 मन्त्री  गुरुङले  उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गरेर चरित्रहत्या गर्न नमिल्ने भन्दै न्यायिक तथा कानुनी प्रक्रिया पूरा नगरी समितिमा त्यस्तो व्यवहार गर्नु उचित नभएको धारणा राखेका छन्। आरोपकै आधारमा कसैलाई न्यायाधीश बन्न नमिल्ने भन्दै उनले कानुनी प्रक्रियामाथि विश्वास गर्नुपर्ने बताएका छन्।

यसअघि सार्वजनिक लेखा समितिमा प्रहरी पोशाक तथा सामग्री खरिदमा अनियमितता भएको उजुरीमाथि छलफल हुँदा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल उपस्थित थिए। सो क्रममा प्रहरी प्रमुखमाथि प्रश्न उठाइएको थियो।

गृहमन्त्री गुरुङले वर्तमान सरकारको ‘स्पिरिट’ अनुसार प्रहरी प्रशासन दिनरात खटिरहेको भन्दै प्रहरी नेतृत्वको मनोबल कमजोर हुने गरी व्यवहार नगर्न आग्रह गरेका छन्।

उनले कारागारभित्र नाइके, भाइ नाइके र चौकीदार नियुक्तिमा हुने विकृति तथा जेललाई कमाइको माध्यम बनाउने प्रवृत्ति रोक्न नियुक्ति प्रक्रिया नै रोकिएको जानकारी पनि दिएका छन्। अबदेखि चौकीदार नियुक्तिका लागि पारदर्शी मापदण्ड लागू गर्न आफूले निर्देशन दिइसकेको उनको भनाइ छ।