काठमाडौं- हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ अन्तर्गत हिमालय रोडिज सिजन–८ को प्रि–अडिसन घोषणा गरेको छ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि–अडिसन आगामी अगस्ट १५ अर्थात् साउन ३० गतेदेखि सुरु भएको छ।
प्रि–अडिसनमा सहभागी हुनेहरूले ‘ब्लू टिकट’ प्राप्त गर्ने अवसर पाउनेछन्। ब्लू टिकट प्राप्त गर्नेहरू कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्न पाउनेछन्।
प्रि–अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुममा आयोजना हुनेछ। पहिलो चरणअन्तर्गत साउन ३० गते धरानको विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट सुरु हुनेछ। त्यसपछि साउन ३१ गते बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा प्रि–अडिसन हुनेछ।
त्यस्तै, भदौ १ गते हेटौंडाको राज मोटर्स र बुटवलको बाइकर्ज बुटवलमा एकैसाथ प्रि–अडिसन आयोजना हुनेछ। भदौ २ गते बर्दिबासको एमएडब्लू, भदौ ३ गते धनगढीको एमएडब्लू र भदौ ४ गते काठमाडौंको नक्सालस्थित एमएडब्लूमा प्रि–अडिसन सञ्चालन हुनेछ।
रोडिज लामो समयदेखि सहभागीहरूको मनोवृत्ति, सहनशक्ति, साहस र चुनौती सामना गर्ने क्षमताको परीक्षण गर्ने चर्चित रियालिटी शोका रूपमा परिचित छ। सिजन–८ को ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिमले अग्ला हिमालदेखि व्यक्तिगत सीमासम्म चुनौतीको सामना गर्ने निडर भावनालाई प्रस्तुत गर्ने आयोजकको भनाइ छ।
यो थिम यामाहाको रेसिङ विरासत तथा ब्रान्डको ‘द कल अफ द ब्लू’ सन्देशसँग समेत जोडिएको बताइएको छ। नेपालमा यामाहा रेसिङले युवालाई लक्षित विभिन्न प्लेटफर्म र चुनौतीपूर्ण गतिविधिमा निरन्तर सहकार्य गर्दै आएको छ।
रोडिजमा सहभागी हुन इच्छुक युवालाई तोकिएको मितिमा आफ्नो नजिकको यामाहा शोरुममा पुगेर प्रि–अडिसनमा सहभागी हुन आग्रह गरिएको छ।
छ दिनमा सात सहर समेटिने प्रि–अडिसनले हिमालय रोडिज सिजन–८ को रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको छ।



























































