काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेटेर ऊर्जा क्षेत्रको विकास, विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल आवश्यक नीतिगत तथा कानुनी सुधारबारे जानकारी गराएको हो।
इप्पानले विद्युत् ऐन, २०४९ निजी क्षेत्रको सहभागिता प्रारम्भिक चरणमा रहेको समयमा बनेको भन्दै अहिलेको ऊर्जा क्षेत्रको आवश्यकता सम्बोधन गर्न नयाँ कानुनी संरचना आवश्यक रहेको जनाएको छ। नयाँ विद्युत् विधेयकमार्फत निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, विद्युत् व्यापार, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, कार्बन व्यापार तथा नवीन प्रविधिमा समेत समान अवसर दिनुपर्ने इप्पानको माग छ।
इप्पानले लामो समयदेखि रोकिएको करिब १७ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउनुपर्ने मागसमेत राखेको छ। अध्ययन सम्पन्न गरी लगानीका लागि तयार आयोजनाको पीपीए रोकिँदा निजी लगानी निष्क्रिय भएको, बैंकिङ प्रणालीमा लगानीको चक्र प्रभावित भएको र विद्युत् उत्पादन विस्तारको गति रोकिएको इप्पानको भनाइ छ।
सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा नयाँ आयोजना अघि बढाउन समयमै पीपीए हुनुपर्ने इप्पानले जनाएको छ।




























































