ललितपुर-  ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोमबार महानगर परिसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको हो ।


ADVERTISEMENT


सेवा शुभारम्भ गर्दै मन्त्री मेहताले जनप्रतिनिधि र स्वास्थ्य मन्त्रालय दुवैको मुख्य उद्देश्य नागरिकलाई शतप्रतिशत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताएकी छिन् । उनले ललितपुर महानगरपालिकालाई स्वास्थ्य क्षेत्रको आवश्यक नीतिगत तथा व्यावहारिक सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गरेकी छिन् ।


ADVERTISEMENT

# # #


ट्राफिक जाम वा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुने अवस्थामा एम्बुलेन्समा उपलब्ध स्वास्थ्यकर्मी र प्राथमिक उपचारबाट गम्भीर बिरामी तथा दुर्घटनामा परेका व्यक्तिको ज्यान जोगाउन महत्वपूर्ण सहयोग पुग्ने उनको भनाई छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले देशभरका २९३ नगरपालिकामध्ये स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेकाले ललितपुर महानगरपालिका पुरस्कृत भएको जानकारी दिएका छन् । विगतमा पाटन अस्पताल, स्वास्थ्यकर्मी तथा चिकित्सकको सहयोगमा महानगरले स्वास्थ्य सेवा विस्तार गर्दै आएको र अहिले वीर अस्पताल तथा टिचिङ अस्पताललगायतबाट समेत सहयोग प्राप्त हुन थालेको उनले बताएका छन्।

कोभिड–१९ महामारीका क्रममा पाटन अस्पतालमा देखिएको अक्सिजन अभावलाई सम्बोधन गर्न महानगरपालिकाले शतप्रतिशत आर्थिक लगानीमा अक्सिजन प्लान्ट जडान गरेको पनि प्रमुख महर्जनले जानकारी दिएका छन्।

महानगरपालिकाका अनुसार हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था मिलाइएको छ । नयाँ सेवाबाट आकस्मिक अवस्थामा रहेका बिरामीले समयमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।