काठमाडौं- उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ।
काठमाडौंको माइतीघरमा हस्ताक्षर अभियान सुरु गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा सरकारले उल्टै कर लगाएको भन्दै आपत्ति जनाएका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउने विषयलाई लिएर पनि सरकारले उद्योगी व्यवसायीलाई अन्याय गरेको उनको भनाइ छ।
इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर तथा लाइन पड्काउने भन्दै सम्बन्धित निकायबाट भ्रम फैलाइएको दाबी गर्दै अध्यक्ष घिसिङले त्यसप्रति आपत्ति जनाएका छन्।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग व्यापक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा सरकारले ७० देखि ८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पुनः पेट्रोल, डिजेल र ग्यासको आयातलाई प्रोत्साहन गर्ने गलत नीति लिएको उहाँले आरोप लगाएका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै घिसिङले राइड सेयरिङ तथा २०–३० हजार रुपैयाँ आम्दानी गर्ने सामान्य श्रमिकमाथि समेत करको भार थपिएको भन्दै विरोध जनाएका हुन्।
उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर खारेज नभएसम्म अभियानलाई निरन्तरता दिने जनाएको छ।





























































