काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीरतापूर्वक पहल भइरहेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कूटनीतिक पहलसँगै प्राविधिक सुधारलाई अघि बढाइएको जानकारी दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तयार भइसकेको र स्वीकृतिका लागि छिट्टै संसद्मा पेस गर्ने तयारी भइरहेको उनले बताएका छन्।
मन्त्री पौडेलले नेपालका लागि युरोपेली संघका राजदूत तथा ईयू सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतहरूसँग छलफल गरिएको जानकारी दिए। नेपालले उड्डयन सुरक्षामा गरेका वास्तविक सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन तथा आगामी दिशाबारे जानकारी गराउँदै सकारात्मक सहयोगका लागि आग्रह गरिएको उनले बताए।
उनका अनुसार ईयूको हवाई सुरक्षा सूचीबाट हट्न केवल कूटनीतिक पहल पर्याप्त हुँदैन। त्यसका लागि वास्तविक र मापनयोग्य प्राविधिक सुधार आवश्यक रहेको भन्दै उनले ईयूबाट प्राप्त सुधारात्मक कार्ययोजनाको समीक्षा र त्यसका आधारमा थप आवश्यक कदम अघि बढाइने बताएका छन्।





























































