काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरिएको जानकारी दिएका छन्।
कांग्रेसले सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामार्फत संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। तर यस विषयमा सरकार गम्भीर नदेखिएको कांग्रेसको निष्कर्ष छ।
बैठकले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति जनाउँदै जनप्रतिनिधिले उच्च राजनीतिक मर्यादा र संसदीय संस्कार कायम राख्नुपर्नेमा जोड दिएको छ।
सरकारले संविधान र कानुनको सीमाभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने, संवैधानिक निकायको स्वतन्त्रता कायम राख्नुपर्ने तथा नागरिक र जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्नुपर्ने कांग्रेसको माग छ।
त्यस्तै, पारदर्शिताका नाममा सार्वजनिक आह्वान गरेर गरिएका नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको प्रवक्ता चालिसेले बताएका छन्।
बैठकले सभापति गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति थापाले प्रस्तुत गर्ने र ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने कांग्रेसले जनाएको छ।
त्यस्तै, पार्टीको विधानलाई समयसापेक्ष बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।





























































