काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत परेको हो। मतदानमा ४६ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए।
सभामुख भीमबहादुर भण्डारीले प्रस्तावको पक्षमा प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत मत परेको भन्दै मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन्।
भट्टलाई नेकपा र नेकपा एमालेका सांसदहरूले समर्थन गरेका हुन्। विपक्षमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मतदान गरेका थिए।
गत साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले सरकार सञ्चालनका लागि प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्। विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारीसमेत अघि बढाइएको छ।





























































