काठमाडौं- बागमती प्रदेशमा सरकार गठनलाई लिएर राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो धारणा स्पष्ट पारेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै पनि दललाई समर्थन नरहेको बताएका छन्।
लिङ्देनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गरेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत रहेको दाबी गरेका छन्। उनले उक्त विषयमा प्रदेश प्रमुखसमक्ष जानकारी गराइसकेको समेत बताएका छन्।
अध्यक्ष लिङ्देनका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधिमा संलग्न नेताहरू तथा सांसदहरूमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको छ। सरकार गठनका लागि कुनै दलसँग समर्थन वा सहकार्य नगर्ने पार्टीको निर्णय स्पष्ट हुँदाहुँदै त्यसविपरीत कदम चालिएको भन्दै नेतृत्वले कडाइ गरेको हो।
बागमतीमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने प्रयास भइरहेका बेला राप्रपाको यस्तो स्पष्ट अडानले प्रदेशको सत्ता समीकरणलाई थप रोचक बनाएको छ। राप्रपाका सांसदहरूको भूमिकालाई लिएर भइरहेका विभिन्न राजनीतिक प्रयासका बीच अध्यक्ष लिङ्देनको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको अनुशासन र आधिकारिक निर्णयलाई प्राथमिकता दिएको सन्देश दिएको छ।
अब पार्टी निर्णयविपरीत सरकार गठनको प्रक्रियामा संलग्न भनिएका सांसद तथा नेतामाथि हुने कारबाही र त्यसले बागमतीको आगामी सत्ता समीकरणमा पार्ने प्रभावलाई चासोका साथ हेरिएको छ।





























































