काठमाडौं-  एनएमबी बैंकले डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकले कर्जाका लागि बैंक पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ।


ADVERTISEMENT


बैंकका अनुसार नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै स्थान वा डिभाइसबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी पनि ‘रियल–टाइम’ मै हेर्न सकिने व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


अनलाइन कर्जा आवेदन दिन ग्राहकले digi.nmb.com.np मा लगइन गरी ‘Loan Services’ मा गएर ‘Explore Products’ छनोट गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक कर्जा शीर्षक छनोट गरी आवश्यक विवरण भरेर आवेदन बुझाउन सकिनेछ।

फारम बुझाएपछि ग्राहकले तत्कालै ‘Online Loan Tracking ID’ प्राप्त गर्नेछन्। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था तथा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनमै हेर्न सकिने बैंकले जनाएको छ।

बैंकले यो सेवा कर्जा प्रक्रियालाई सरल, पारदर्शी, छिटो र कागजरहित बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको समय बचत गर्दै दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य रहेको बैंकको भनाइ छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।