काठमाडौं- बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधनका लागि पर्याप्त अंक नपुग्ने स्पष्ट पारेका छन्।
‘प्रतिनिधिसभामा दुई तिहाइ पुग्दैमा त्यो संविधान संशोधन गर्न पर्याप्त अंक होइन,’ उनले भने, ‘संविधान संशोधनको लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्र हुन सक्दैन।’
संविधान संशोधनजस्तो संवेदनशील विषयमा धारणा राख्दा कानुन, संविधान र विषयवस्तुको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने लामिछानेले बताए। सरकारलाई सकारात्मक काममा सहयोग गर्ने विषयमा भने आफूहरू सकारात्मक रहेको उनको भनाइ छ।
लामिछानेले संविधानमा भएको व्यवस्थालाई स्वीकार गर्दै जनताको म्यान्डेटअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनले संवैधानिक निकायमाथि राजनीतिक पूर्वाग्रहका आधारमा टिप्पणी गर्न नहुने बताए।
संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएका पदाधिकारीले संविधानले तोकेको जिम्मेवारी पूरा गरिरहेको भन्दै उनले संस्थामाथि अनावश्यक आरोप लगाउँदा त्यसको नेतृत्व गर्ने व्यक्तिको मात्र नभई संस्थाकै गरिमा प्रभावित हुने बताएका छन्।
‘अदालत पनि पार्टीको हो, यो पनि पार्टीको हो भन्न मिल्दैन,’ लामिछानेले भने।
व्यक्तिगत असन्तुष्टिका कारण लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर पार्न नहुने उनको चेतावनी छ। लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कमजोर हुँदै गए त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक प्रणालीमै पर्ने उनले बताए।
लामिछानेले संविधान संशोधनलाई संस्थाको क्षयीकरण गर्ने माध्यम नभई आवश्यक सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखे। ‘सके एक–दुई वटा इँटा थपौँ, नसके पनि त्यसलाई क्षयीकरण हुन नदिऔँ,’ उनले भने।





























































