काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्धव थापालाई बागमती प्रदेशसभा सदस्यबाट पदमुक्त गरेकाे छ । यस्तै पार्टी अनुशासन बिपरित कार्य गरेकाे भन्दै थापालाई पार्टी सदस्यबाट निलम्बन समेत गरेकाे छ । साेकाे जानकारी प्रदेश सभालाई समेत गराएकाे राप्रपाले जनाएकाे छ ।
आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेकाे थियाे । साे निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले साे जानकारी गराएका हुन ।
“बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापाले पार्टीको निर्णय विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निजलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको छ” अध्यक्ष लिङ्देनले भने । पार्टीले गरेकाे निर्णय प्रदेशसभालाई समेत जानकारी गराईएकाे उनले बताएका छन् ।
एमालेले चलखेल गरेर प्रदेशका आफ्ना सदस्यहरूलाई हातमा लिएकाे उनले बताएका छन् । अब सरकारमा सहयाेग गर्ने र सहभागी हुने सबै सांसदहरूलाई उद्धव थापालाई जस्तै पार्टीले हदै सम्मकाे कारबाही गर्ने समेत अध्यक्ष लिङ्देनले बताएका छन् ।
याेसंगै बागमती प्रदेशमा सामेल हुन पार्टी केन्द्र बिपरित अघि सरेका थापा लगायतका सांसदहरू अबैधानिक ठहर भएका छन् । राप्रपाले अनुराेध गरे जस्तै उनीहरूलाई मान्यता नदिनु प्रदेश प्रमुखका लागि संबैधानिक दवाव परेकाे छ ।
यस्लाई बेवास्था गरेर अघि बढे नयाँ सरकार अबैधानिक बन्दै प्रदेश प्रमुखकाे कार्य समेत गैरकानुनी बन्ने भएकाे छ । याे संगै मुख्यमन्त्री बन्ने किरण थापाकाे जाेडबल तुहिने अबस्थामा पुगेकाे छ ।






























































