काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन्।
रास्वपा केन्द्रीय कार्यालयमा सोमबार साँझ आयोजना हुने कार्यक्रममा गृहमन्त्री गुरुङले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना समस्या, गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा भने नागरिकबाट आएका विषय तथा समसामयिक र नीतिगत मुद्दामाथि मन्त्री, सांसद र पार्टीको केन्द्रीय नेतृत्वबीच छलफल हुनेछ।
रास्वपाका अनुसार नागरिकका वास्तविक समस्या र सुझावलाई सरकार तथा पार्टीको नीति निर्माणसँग जोड्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
पार्टीले भदौ महिनादेखि सुरु गरेको यो कार्यक्रममार्फत नागरिक र राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवाद तथा सुझाव आदानप्रदानलाई प्राथमिकता दिइएको जनाएको छ।





























































