काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कर्मचारीतन्त्रका कारण नेपालको आर्थिक नीतिहरू जटिल बन्दै गएको बताएका छन्।


ADVERTISEMENT


आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रशस्त भए पनि सही आर्थिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले कानुनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाले संसदबाट पारित भएका कानुनसमेत कर्मचारीतन्त्रले नियमावली तथा कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाएका छन्।

अग्रवालले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्भावना रहेको उल्लेख गर्दै सही नीति, सरकारको इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन भए नेपाल दक्षिण एसियाकै उच्च प्रतिव्यक्ति आय भएको मुलुक बन्न सक्ने दाबी गरेका छन्।

उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष अग्रवालले लगानीको वातावरणमा सुधार नल्याए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिएका छन्। उनले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको विश्वास बढाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।