काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ।
राप्रपाका अनुसार पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गर्नुका साथै ह्विप उल्लंघन गरेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई पदमुक्त गरिएको हो।
केन्द्रीय अनुशासन समितिको सिफारिसमा तीन सांसदलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पदमुक्तसम्बन्धी पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुखलाई बुझाइएको र प्रदेशसभा सचिवालयमा समेत दर्ता गरिएको छ।
बागमती प्रदेशमा राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्णयविपरीत एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए। त्यसपछि बिष्ट, प्रजापति र तामाङ प्रदेश सरकारमा सहभागी भएका थिए।
पार्टी केन्द्रले सरकारमा सहभागी नहुन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै सरकारमा गएको भन्दै राप्रपाले उनीहरूमाथि कारबाही गरेको हो।
तीन सांसद पदमुक्त भएपछि बागमती प्रदेशसभाको अंकगणितमा समेत असर पर्ने देखिएको छ। मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिन तयारी गरिरहेका बेला राप्रपाको यो निर्णयले सरकारको बहुमत जुटाउने प्रयास थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
राप्रपाको निर्णयसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ बहस सुरु भएको छ। विशेषगरी मुख्यमन्त्रीको विश्वासको मतका क्रममा राप्रपाको भूमिका निर्णायक बन्न सक्ने अवस्थामा तीन सांसद पदमुक्त हुनुले राजनीतिक समीकरणलाई थप पेचिलो बनाएको छ।





























































