काठमाडौं- काठमाडौंमा आयोजना हुने ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म २१५ भन्दा बढी स्टल तयार भइसकेका छन्। उनले विगतका वर्षको तुलनामा यसपटक प्रदर्शनीस्थल थप फराकिलो र व्यवस्थित बनाइएको दाबी गरे।
प्रदर्शनीस्थलमा हिलचियरमैत्री संरचना, पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको छ। प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ।
अवलोकनकर्ताले सवारीसाधन, वित्त, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी तीन छुट्टाछुट्टै चरणमा लिन सक्ने व्यवस्था गरिएको नाडाले जनाएको छ। प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।
नाडाले अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरेको छ। खल्तीको एप वा आधिकारिक क्यूआर कोडमार्फत टिकट काट्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।
भोलि बिहान साढे १० बजेदेखि सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ।
अवलोकनकर्ताका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको नाडाले जनाएको छ। प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया, आकस्मिक स्वास्थ्य सेवा, सीसीटीभी निगरानी तथा अग्नि नियन्त्रण प्रणालीसमेत उपलब्ध हुने बताइएको छ।





























































