काठमाडौं – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले वर्तमान प्रदेश सरकारलाई पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउन आफ्नो दल सकारात्मक रहेको बताएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको सोमबारको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै थापाले सरकार परिवर्तनको पक्षमा कांग्रेस नरहेको स्पष्ट पारे।
प्रतिपक्षमा रहेका कारण प्राविधिक रूपमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिए पनि सरकारको स्थायित्वका विषयमा कांग्रेसको धारणा स्पष्ट रहेको उनले बताए।
‘नेपाली कांग्रेस यो सरकार ढल्नुपर्छ र अर्को बन्नुपर्छ भन्ने मान्यतामा छैन। सरकार गिर्ने अवस्था आयो वा संकटमा पर्यो भने हामी यसलाई टिकाएर पूर्ण कार्यकाल काम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ,’ थापाले भने।
उनले राजनीतिक अस्थिरताका कारण प्रदेशको विकास र जनताका काम प्रभावित हुने भएकाले वर्तमान सरकारलाई आफ्नो कार्यकाल पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
थापाले संघीय सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोपसमेत लगाए। प्रदेशको अधिकार र स्वायत्तता बलियो बनाउनुपर्ने भन्दै उनले संघीय हस्तक्षेप रोक्नुपर्ने धारणा राखे।
त्यस्तै, सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने अवस्था अन्त्य गर्नुपर्ने र प्रदेशको असन्तुलित बजेटलाई आवश्यकताअनुसार परिमार्जन गर्नुपर्नेमा समेत उनले जोड दिए।
थापाको अभिव्यक्तिले मुख्यमन्त्री कार्की नेतृत्वको कोशी सरकारलाई तत्काल सत्ता परिवर्तनको जोखिमबाट जोगाउन कांग्रेस सकारात्मक रहेको राजनीतिक सन्देश दिएको छ।






























































