काठमाडौं- विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले विधेयकलाई थप परिस्कृत र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएकी छिन्।
मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएकी छिन्। उनले मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित अन्य कानुनका विषयमा समेत छलफल गरिरहेको जानकारी दिएकी छिन्।
विगतमा कानुन कार्यान्वयनका क्रममा विभिन्न कमजोरी देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिन विधेयकलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन्। समितिबाट प्राप्त सुझावलाई विधेयकमा समेट्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारेकी छिन् ।





























































