काठमाडौं- ई–स्पोर्टस् एसोसिएसन अफ नेपाल (इशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा भएको पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएसएल) फल सिजनको उपाधि डट्स ई–स्पोर्ट्सले जितेको छ।
राखेप कभर्ड हलमा सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई–स्पोर्ट्सले उपाधि आफ्नो नाममा गरेको हो। उपाधिसँगै विजेता टोलीले ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रमअनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको डट्स ई–स्पोर्ट्सलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र इशानका कार्यबाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका छन्।
प्रतियोगिताबाट उत्कृष्ट १२ टोली ‘रोड टु पीएमजीओ’ अन्तर्गत अर्को चरणमा प्रवेश गरेका छन्। उक्त चरणमार्फत नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने अवसर पाउनेछन्।
नेपालमा ई–स्पोर्ट्सलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको इशानका सचिव आशिष दाहालले जानकारी दिएका छन्।





























































