काठमाडौं- कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२६–२७ को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङक्स बनेको छ।
यससम्बन्धी सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिजनेस हेड सोनिया रानाले हस्ताक्षर गरेका छन्।
ईपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुन लागेको हो। खेलकुद गतिविधिको प्रत्यक्ष प्रसारणमा कान्तिपुर म्याक्सको योगदान र ईपीएलको लोकप्रियतालाई आधार बनाएर सहकार्य गरिएको एक्स्ट्रिम इनर्जी ड्रिङक्सकी बिजनेस हेड सोनिया रानाले बताइन्।
युरोपको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगितामध्ये एक ईपीएल विश्वकै सबैभन्दा धेरै दर्शकले हेर्ने फुटबल लिगमध्ये पर्छ। प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गरेका छन् भने विश्वव्यापी दर्शक संख्या औसत ४.७ बिलियन रहेको बताइएको छ।
नेपालमा पनि विशेषगरी युवा पुस्तामाझ ईपीएलको लोकप्रियता उच्च छ। विभिन्न क्लबका आधिकारिक फ्यान क्लबहरू सक्रिय रहेका छन्।
पछिल्लो सिजन आर्सनलले उपाधि जितेको थियो। ईपीएल २०२६–२७ को नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ। पहिलो खेलमा साविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ सिजनसँगै नेपाली फुटबलप्रेमीले कान्तिपुर म्याक्सबाट ईपीएलका खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन्।






























































