काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्वलाई दिगो र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सरकारले एकीकृत कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले बाँदर, हात्ती, चितुवा, बँदेल र नीलगाईलगायत वन्यजन्तुले पुर्याइरहेको क्षति नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
रास्वपा सांसद ज्ञानेन्द्र सिंह महताले वन्यजन्तु व्यवस्थापनका लागि छुट्टाछुट्टै कार्यदल बनाउनुको सट्टा सबै वन्यजन्तुलाई समेट्ने गरी एकीकृत ढाँचा तयार गर्नुपर्ने बताए।
उनले बैतडीमा चितुवाको आक्रमण तथा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हात्ती र बाँदरले पुर्याइरहेको क्षतिको उदाहरण दिँदै मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
समितिका सदस्य केपी खनालले सुदूरपश्चिममा भारतीय राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीका कारण ठूलो जनधनको क्षति भइरहेकाले दुई देशबीच कूटनीतिक पहल गर्नुपर्ने बताए।
त्यस्तै, सांसद सुरेशकुमार चौधरीले बाँके राष्ट्रिय निकुञ्ज आसपासका पुराना बस्तीहरू वन्यजन्तुको जोखिममा रहेको उल्लेख गर्दै स्थानीय बासिन्दाको सुरक्षा र क्षतिपूर्तिको प्रभावकारी व्यवस्था गर्नुपर्ने बताए।
बैठकमा उपस्थित विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले सांसदहरूले उठाएका विषयलाई प्रतिवेदनमा समेट्ने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।






























































