काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणतर्फको शेयर निष्काशन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये विभिन्न समूहका लागि शेयर बाँडफाँट भइसकेको छ ।

अब सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन हुनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीका अनुसार आईपीओ निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा असोज ५ गतेसम्म खुला रहनेछ ।

आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ दिएको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

बेनी हाइड्रोपावरले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको विद्युत अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ ।

आईपीओको बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।